
काठमाडौं – अहिले विश्वका धेरै देशमा मंकीपक्सको सङ्क्रमण देखिएको छ । उक्त सङ्क्रमण नेपालमा पनि सर्न सक्ने सम्भावना देखिएको विज्ञहरू बताउछन् ।
हाल मंकीपक्सको सङ्क्रमण भएका १० प्रतिशत मानिसमा मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । मंकीपक्सको सङ्क्रमण भए पछि धेरै जसो लक्षण विहीन अवस्थामा अथवा सामान्य लक्षण भए पनि केही समय पछि आफै हराएर जान सक्छ भन्ने छ । कसै कसैलाई चार हप्ता सम्म सङ्क्रमण सर्न सक्ने पनि पाइएको अधिकारी बताउछन् ।
मंकीपक्सको भ्याक्सिन उत्पादन भएर विश्वव्यापी रूपमा प्रयोगमा पनि आइसकेको छ । यो सङ्क्रमण नभएको अवस्थामा यो भ्याक्सिन वितरण गरिएको छैन । तर अध्ययन अनुसन्धानबाट पुस्टी भएर मंकीपक्स भएकालाई यो भ्याक्सिन लगाउने भन्ने भइसकेको छ । अर्को कुरा स्मलपक्सको उपचारको लागि प्रयोग हुने औषधीहरू यसका लागि उपयुक्त हुनसक्ने अहिले सम्मको अध्ययनले देखाएको अधिकारीले बताए ।
यो रोग कसरी सर्छ?
संक्रमित व्यक्त्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको निम्न कुराबाट सर्छः
- थुक, र्याल
- घाउ, खटिरा
- शरीरबाट निस्कने तरल पदार्थ
- दूषित सतह र सामग्री
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
- श्वासनली
- आँखा, नाक वा मुख
- काटिएको, टोकिएको वा फुटेको छाला
-बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ।
यस रोगका लक्षणहरू के-के हुन्?
- ज्वरो आउनु
- सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छालामा दाग देखिनु
- अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
- डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनु
- टाउको, ढाड र मांसपेशी दुख्नु
- शरीरका ग्रन्थिहरू बढ्नु
- लक्षण १४-२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफै हराउँछ
मङ्कीपक्स रोगका सम्भावित जटिलताः
- बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्त्तिहरूलाई निम्न जटिलता हुन सक्छः
- आँखामा संक्रमण र दृष्टि गुम्नु
- अन्य जीवाणुको संक्रमण
- न्युमोनिया
- मस्तिष्क ज्वर
- गर्भ खेर जानु
- मृत्यु
मङ्कीपक्स रोगका रोकथामका उपायहरूः
- मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्त्तिसँग असुरक्षित सम्पर्कमा नजाने
- संक्रमित व्यक्त्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
- संक्रमित व्यक्त्तिको हेरचाह गर्नेले पिपीई लगाउने
- घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
- नियमित रूपमा साबुनपानीले हात धुने
- मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
- संक्रमित व्यक्त्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी र डिटर्जेन्टले धुने
- संक्रमित व्यक्त्तिका सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने
- मासुजन्य खानेकुरा राम्री पकाएर मात्र खाने
- फोहोरलाई उचित स्थानमा फाल्ने
ज्वरो आएको १ देखि ३ दिनभित्र अनुहार, हत्केला र पैतालामा दाग वा डाबर देखिएमा पैसा नलाग्ने हटलाइन नं १११५ मा फोन गरेर जानकारी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्