नागरिक एपमा आयो राष्ट्रिय परिचयपत्र

RONB 21 Jan, 2025 20:50 PM

काठमाडौं ।  नागरिक एपमा राष्ट्रिय परिचयपत्र ‘लाइभ’ गरिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तरआबद्धता (इन्टिग्रेसन) को प्रक्रिया सकिएसँगै परिचयपत्र एपमा आएको हो  । एपभित्र 'नेसनल आईडी' विकल्प देख्न सकिन्छ । यसमा थिचेर आफ्नो परियचपत्र नम्बर राखेपछि एप र परिचयपत्र 'सिंक्रोनाइज' भएर परिचयपत्र देखापर्छ । राष्ट्रिय परिचयपत्रसँग जोडिएसँगै डेमोग्राफिक डिटेल, फोटो आदि  जस्ता नागरिकका प्रमाणीकृत विवरण नागरिक एपमा आएका छन् । यसले गर्दा नागरिक एपबाटै केवाईसी अपडेट तथा व्यक्तिको प्रमाणीकरण गर्न सकिने अवस्था तयार भएको छ । 

गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तरआबद्धता कायम गर्न प्राविधिक परीक्षण गरिएको सूचना प्रविधि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ । आवश्यक सबै परीक्षणपछि राष्ट्रिय परिचयपत्र र नागरिक एपबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्