‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति

RONB 04 Feb, 2025 22:20 PM

काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा छ बुँदे सहमति भएको छ । सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ ।  सहमतिपत्रमा गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक (गृह मन्त्रालयका सहसचिव) प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समिति संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्नेछ। त्यसैगरी, माघ १२ गते भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने निर्णय भएको छ। आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विना सर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने छ भने मुक्कुम्लुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ।

त्यसैगरी, पाथीभरा केवलकार आयोजनाका असहमति र अन्य विवादित विषयमा माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गरिने तय भएको छ।ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएको थियो । विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्तामा बस्ने सहमति भएको छ । 



प्रतिकृया दिनुहोस्